जाडोमा किन बढी हुन्छ हर्ट अट्याक ?


Download our app to get more features
Home ad

मुटुको मांसपेशीमा जाने रक्तनली बन्द भएर रगत र अक्सिजन पुग्न नसक्नाले मांसपेशीका कोषहरू मर्ने स्थितिलाई बोलीचालीको भाषामा हर्ट अट्याक र मेडिकल भाषामा मायोकार्डीयल इन्फार्कसन भनिन्छ ।

कारण :

मुटुको मांसपेशीमा रगत संचालन गर्ने स–साना कोरोनरी आर्र्टरीका विभिन्न हाँगाहरू बन्द हुनु नै हर्ट अट्याकको प्रमुख कारण हो । बोसो जम्मा भएर बन्ने ‘प्लाक’ रक्तनलीको भित्री भागबाट छुट्टिएपछि रगतको थेग्रोसँग मिल्न जान्छ र अन्त्यमा यसले रक्तनली बन्द गर्छ र हर्ट अट्याक गराउँछ । जाडो महिनामा हाम्रो शरीरका रक्तनलीहरू सामान्य स्थिति भन्दा साघँुरिने हुनाले यसले मुटुको कोरोनरी आर्टरीलाई पनि साघँुरो बनाउँछ र हर्ट अट्याकलाई थप बल पुराउँछ । 

लक्षण 
♦   अकास्मात छाती दुख्ने छातीको बीचमा कसैले थिचेको जस्तो हुनु ।
♦   दुखाई घाँटी, देब्रे पाखुरा र बंगरातिर पनि सर्नु ।
♦   पसिना आउनु ।
♦   सास फेर्न गाह्रो हुनु ।
♦   वाकवाकी हुनु । 
♦   वान्ता हुनु ।
♦   बेहोस हुनु ।
♦   आलास्य हुनु ।
♦   चिन्तित हुनु वा आत्तिनु ।
♦   मुटुको गति र चाल घटबढ हुनु । 

जाँच 
♦  बिरामीको लक्षण र शारीरिक जाँच
♦  इसीजी जाँच ।
♦  रगतमा मुटुको इन्जाइमहरूको जाँच ।
♦  अन्य जाँचहरू जस्तै, स्ट्रेस टेस्ट, टीएमटी, इको आदि ।

उपचार 
हर्ट अट्याक उपचारको एउटा महत्वपूर्ण पाटो ‘समय’ हो । त्यसैले जतिसक्दो चाडो संकास्पद लक्षण देखिएमा अस्पताल वा स्यास्थ्य संस्था गइहाल्नुपर्छ र उपचार प्रक्रिया सुरु गरिहाल्नुपर्छ । हर्ट अट्याकको उपचारको उदेश्य दुखाई कम गर्ने, मुटुको मांशपेशीलाई मर्नबाट बचाउने र बिरामीको स्थितिलाई विभिन्न सहयोगी तरिकाबाट उकास्नु पर्छ । त्यसको निम्ती चिकित्सकको प्रत्यक्ष निगरानीमा विभिन्न औषधिको प्रयोग गर्नुपर्छ । कतिलाई आइसीयु वा सीसीयुमा राखेर उपचार गर्नुपर्ने पनि हुन सक्छ । कतिपय अवस्थामा कोरोनरी बाइपास सर्जरी वा एन्जियोप्लाष्टी गर्नुपर्ने हुन सक्छ ।

बच्ने तरिका 
खानपिन :
 बढी मात्रामा चिल्लो र कार्बोहाइडे«टयुक्त खाना सेवन गर्ने बानीमा सुधार ल्याउनुपर्छ । सकेसम्म खानामा तरकारी, फलफुल लगायातका प्रोटिन र फाइबरयुक्त बस्तु बढी सेवन गर्नुपर्छ । खानामा नुनको मात्रा कम गर्नुपर्छ । सन्तुलित भोजन नै मुटुरोगबाट बच्ने प्रमुख आधार हो ।

शारीरिक कसरत : शारीरिक परिश्रम कम गर्नुपर्ने मानिसले दिनमा कम्तीमा ३० देखि ४० मिनेट पसिना आउने व्यायाम वा शारीरिक कसरत गर्नुपर्छ । त्यसको निम्ती आफ्नो समय, व्यस्तता र पायक अनुसार दौडने, हिड््ने, विभिन्न खेल खेल्ने, पौडी खेल्ने, बगैँचामा काम गर्ने, नाच्ने गर्न सक्छन ।

तौल नियन्त्रण : मोटोपना, विशेषत पुट्ट पेट हुनु नै मुटुरोगको निम्ती घर हो । त्यसैले सकेसम्म आफ्नो तौल नियन्त्रणमा राख्नुपर्छ । आफ्नो तौल ठिक छ या छैन भनेर थाहा पाउन ‘बडी मास इन्डेक्स’ (बीएमआई) बाट थाहा पाउन सकिन्छ । ‘बडी मास इन्डेक्स’ लाई सकेसम्म २५ भन्दा कम राख्नुपर्छ ।

रक्तचाप र गरगमा चिनी मात्रा नियन्त्रण : उच्च रक्तचाप र मधुमेह भएका विरामीलाई मुटुको समस्या देखिने सम्भावना धेरै हुन्छ । त्यसैले समय समयमा रक्तचाप र रगतमा चिनीको मात्रा जाँच गराउने र ति रोगहरू देखिए चिकित्सकको सल्लाह अनुसार नछुटाई औाधि सेवन गर्नुपर्छ ।

स्वास्थ्य जाँच : ४० वर्ष भन्दा माथिका हरेक मानिसले कम्तीमा वर्षमा एक पटक मुटु रोगको जाँच गराउनुपर्छ । त्यसमा रगतमा चिनी, लिपिड, कोलेस्ट्रोेल र इसीजीको जाँचले मुटुुरोग लाग्न सक्ने सम्भावनालाई पहिले नै पहिचान गरि सोही अनुरुप बच्नको निम्ती विभिन्न तरिकाहरु अपनाउँन सकिन्छ ।

धुम्रपान र मध्यपान नगर्ने : धुम्रपान र मादक पदार्थ सेवनले मुटुरोग लाग्ने संभावना बढाउँछ । त्यसैले सकेसम्म यी दुई चिजबाट टाढा बस्नुपर्छ ।

मानसिक तनाव कम गर्ने : सकेसम्म मानसिक तनावलाई कम गर्नुपर्छ । योगा, ध्यान, खेलकुद र अन्य क्रियाकलापमा आफुलाई केन्द्रित गरेर केही समय व्यस्ततालाई कम गर्न सकिन्छ ।

माथि उल्लेख गरिएका सामान्य उपाय अपनाउँदा मुटुुरोगबाट धेरै हदसम्म बच्न सकिन्छ । यस्ता कुराहरु अरुलाई सुनाउने, आफुले पनि पालना गर्ने र अरुलाई पनि प्रेरित गर्नाले स्वस्थ समाज निर्माण गर्न सकिन्छ ।  
 

Spark_health_home NIdan Hospital

Leave a Comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts Lomus BlueCross_Dec12