पूरा होला त रक्तक्यान्सर भएका आठवर्षीय हिमालको स्कूल जाने सपना ?  


Download our app to get more features

काठमाण्डौ - आफुसँगै उमेरका साथीभाई झोलामा किताव बोकेर विद्यालय गएको देख्दा ८ वर्षीय हिमाल राई पनि आमालाइ सोध्छन् ‘म कहिलेदेखी विद्यालय जाने मामु ?’ अनि आमा बनावटी उत्तर दिन्छिन् ‘चाँडै सन्चो भएपछि जाने ।’ अब त आमाको यो बनावटी उत्तरलाई हिमालले पत्याउनै छोडीसके तर पनि बारम्बार यही प्रश्न सोध्छन् । बनावटी उत्तर यो भएपनि ३२ वर्षीया बवीता राईलाई छोराको प्रश्नले पटकै पिच्छे चसक्क मुटु घोच्छ । उनले हिमाललाइ यस्तो उत्तर दिन थालेको चार वर्ष बितिसक्यो । 

जब हिमाल तीन वर्षका थिए । उनलाई ज्वरोले सतायो  । खोटाङको च्यास्मिटार ८ मा घर भएका हिमालले स्थानीय स्वास्थ्य चौकीले दिएको ज्वरोको औषधी सेवन गरे । त्यतिमात्र हैन उनको परिवारले धामिझाँँँँक्रिको सहायताले पनि हिमालको उपचार गर्ने प्रयास गरे । यो लगभग दश दिनसम्म चल्यो तर हिमालको स्वास्थ्यमा कुनै सुधार देखिएन  । त्यसैले स्वास्थ्य चौकीको सल्लाहमा हिमालको उपचारको लागि उनीहरु काठमाडौं आए । २०७० बैशाख १० गते कान्ति बाल अस्पतालमा भर्ना भएका हिमालको भदौमा मात्र रक्त क्यान्सर भएको पत्ता लागेको थियो । रोग पत्ता लागेपछि दुई महिनासम्म उपचार गराएर घर फर्केका हिमाल फेरी पछिल्लो समय ५० दिन देखि अस्पतालकै बेडमा छन् । 

पारिवारीक आय स्रोत कम भएका  कारण उनलाई राम्रो अस्पतालमा लगेर उपचार गर्न सक्ने अबस्था पनि छैन् । हिमालका बाबा खवर राईले विदेशमा गएर पसिना बगाएर कमाएको सबै सम्पति छोरोको उपचार गर्दै सकिएको छ । उपचारको लागि खोटाङबाट आएर उनीहरु काठमाडौंको बौद्धमा बस्दै आएका छन् । अहिलेसम्म हिमालको उपचारको लागि १७÷१८ लाख खर्च भइसकेको छ । आफन्तको केहि सहयोग र ऋणले अहिले हिमालको उपचार खर्च जुटिरहेको छ । हिमालको अस्पतालमा दैनिक उपचार खर्र्च २५ सय देखि पाँच हजार सम्म  हुने गरेको छ । अस्पताल नै बस्नुपर्दा खानामा मात्र दैनिक एकहजारभन्दा बढी खर्च हुने गरेको छ । अब त घरको र छोराको उपचारको लागि पैसा कमाउने हिमालका बाबा पनि अल्सरका कारण आफै आयुर्वेदिक प्रयोग गर्दै आएका छन् । डाक्टरले भारतमा लगेर छोराको उपचार गराउन सल्लाह दिएपनि पैसाको अभावले उनीहरु थप उपचारको लागि भारत जान सकेका छैनन् । उनीहरुलाई अब त नेपालमा नै उपचार गराउन समस्या भइसकेको छ । हिमालका दुई दिदीहरु छन् । उनीहरुको पढ्ने, बस्ने,खाने सबै जिम्मामा एकातिर छ । आर्थिक समस्या भएपछि एउटी छोरीलाई उनीहरुले षडानन्द विद्ययाश्रममा पढाइरहेका छन् ।  

डाक्टरको सल्लाह बमोजिम समय समयमा परीक्षणको लागि अस्पताल धाउँदै छन् राई परिवार । ४ वर्षसम्म उपचार गराउँदा पनि रोग निका ेहुने नहुने कुनै ग्यारेन्टी छैन् । अस्पतालको बेडमा भएपनि छोरालाई देख्न पाएकोमा आफु खुसी भएको हिमालकी आमाले बताइन् । उनले भनिन् ‘छोरा अब धेरै समयबाँच्ने आसपनि मरिसक्यो ।’ उपचारको क्रममा अस्पतालमा पाइने भन्दाबाहेकको औषधि किन्नपनि समस्या भएको उनले बताइन् ।  हिमालको उपचारमा संलग्न चिकित्सकले स्वास्थ्यमा सुधार आएको, सबै सामान्य हँुदै गएको बताउदै आएका छन् । तर पुरै निको हुनेमा भने शंङ्का नै छ । 

सुरुमा अस्पताल आँउदा हिमालको अवस्था जटिल थियो । हिमालको उपचारमा संलग्न डाक्टर कैलाश शाहले भने ‘अहिले हिमालको स्वास्थ्य अवस्थामा सुधार आएको छ । थप उपचारको लागि भारत लगे निको पनि हुनसक्छ । ’ उनले थपे ‘अब हिमालको उपचारको एउटै विकल्प भनेको बोनम्यारो प्रत्यारोपण हो ।’ नेपालमा १४ वर्ष मुनिका बालबालिकालाई बोनम्यारो प्रत्यारोपण गर्ने कुनै प्रविधि नभएकोले हिमालको उपचारको लागि भारत लानु पर्ने आवश्यक रहेको पनि शाहले बताए  । बारम्बार थप उपचारका लागि भारत लैजान डाक्टरले सल्लाह दिँदापनि आर्थिक अवस्था कमजोर भएकाले जान नसकिएको बबिताले दुखेसो गरिन् ।   आर्थिक अवस्था राम्रो नभएकै ले विगत ४ वर्ष देखि नेपालमा नै उपचार गराउँदै आएका हिमाललाई अस्पतालमा उपलव्ध भएका सेवा निशुल्क छन् । 
हिमाललाई भारत गएर उपचार गर्न कम्तिमा पनि ३० देखि ४० लाख खर्च लाग्ने अनुमान छ । तर यो रकम जुटाउन परिवार असमर्थ छ । आर्थिक अभावकै कारण रकम नजुट्ने भएपछि अहिले हिमालको जिवनको आयु कति छ भनेर अनुमानै लगाउन सकिएको छैन् । तर रकम जुटाउन सकेको खण्डमा भने हिमाले पुनर्जिवन पाउनपनि सक्छन् । 

अस्पतालले यस्ता बिरामीलाई अस्पतालमा उपलब्ध भएका सबै सेवा निशुल्क प्रदान गर्दै आएको छ । तर समयमा समयमा अस्पतालमा विभिन्न प्रकारका औषधीको अभाव हुँदा बिमारीलाई असुविधा हुने गरेको छ । अस्पतालले वेड, सिटिस्क्यान, अल्टासाउण्ड जस्ता कुरा निशुल्क उपलब्ध गराउँदै आएको छ । 

हिमालको उपचारमा संलग्न डाक्टर साहका अनुसार यस्ता बिरामी महिनामा करिब १० जना आउने गरेका छन् । यी मध्ये ४० देखि ५० प्रतिशत बच्चा निको हुने गरेको आंकडा छ । तर युरोप जस्ता विकसित  देशमा ८० देखि ९० प्रतिशत ठिक हुने गर्दछन । नेपालमा यस्तो हुनुमा दुर्गम क्षेत्रमा रोग निदान नहुनु र सुविधा सम्पन्न अस्पतालको अभाव हुनु मुख्य कारक हुन् ।  यस्ता बिरामीलाई सरकारले एक लाख सम्मको उपचार खर्च निशुल्क गरिदिन्छ तर यो पर्याप्त भने छैन । सरकारले यस्ता बिरामीलाई अस्पतालमा नै बस्ने,खाने व्यवस्था मिलाइदिए राई दम्पतिजस्ता विपन्नलाई राज्य भएको महशुस हुनेथियो । 

Spark_health_home NIdan Hospital

1 Comments

  1. मलाई पूरा बिस्वास छ, उपचार खर्च जुट्ने छ अनि मेरो भतिज सन्चो हुनेछ ।

Leave a Comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Swastha Bema AD below news Related Posts