दाँत स्वास्थ्यका विषयमा डा. बुढाथोकीलाई ७ प्रश्न

What's This?

Download our app to get more features

हाम्रो समाजमा अझैपनि दाँत र मुख स्वास्थ्यलाई खासै महत्वका साथ लिने प्रचलन पाइँदैन । तर मानिसको व्यक्तित्व मुख स्वास्थ्यबिना सम्भव छैन । मानिस जति स्वस्थ भएपनि मुख तथा दाँतमा समस्या छ भने उसका व्यक्तित्वमा नै आँच आउन सक्छ । दाँत तथा मुख स्वास्थ्यका विभिन्न आयाममाथि रहेर वीर अस्पतालका दन्त चिकित्सक डा. प्रकाश बुढाथोकीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ । उनी नेपाल चिकित्सक संघका केन्द्रिय सह कोषाध्यक्ष तथा केन्द्रीय मुख स्वास्थ्य समितिका संयोजक पनि हुन् । 

नेपालमा दन्त स्वास्थ्य सेवाको अहिलेको अवस्था कस्तो छ ?  
दन्त स्वास्थ्यलाई विश्व स्वास्थ्य संगठन र सरकारले आधारभूत स्वास्थ्यमा राखेपनि अझैसम्म अञ्चल अस्पतालमा समेत न त अपेक्षाकृत दन्त चिकित्सक रहेका छन न त सबै दन्तसेवा उपलब्ध छ । सवैले आफ्नो क्षेत्रमा ठुलो समस्या भएको, भयानक तथा दर्दनाक रोगहरु पाइने गरेको सुनाउने गर्छन । तर समस्याको मात्रा तथ्यांक र खोज अनुसन्धानलाई आधार मान्दा विश्व र नेपालमा समेत दाँत तथा मुखको समस्या अत्याधिक छ । दन्त सडन ९० प्रतिशत भन्दा बढीमा छ । दन्तहर्ष रुघाखोकी भन्दा बढी पाइन्छ ।

लाग्छ, दाँतलाई स्वस्थ र काम गर्ने अवस्थामा राख्नु भनेको आधा बढी उत्सव मनाईनु वा सफल पार्नु जस्तै हो । हुन त दाँतको महत्व हरेक क्षणक्षणमा छ तथापी पटक पटक मीठो र स्वादिलो कुरा खाने, मुसुक्क मुस्कुराउने तथा दिल खोलेर हास्ने, सामाजिक जमघटमा निर्धक्क, स्पष्ट बोल्ने र गलल्ल हास्नेमा दाँतको महत्व झनै प्रष्टिन्छ ।

दाँतमा हुने प्रमुख समस्याहरु के के हुन् ?
दन्त स्वास्थ्यका प्रमुख रोगहरूमा दन्त सड्न, दन्तहर्षा, पाइरिया, दाँत सिरींग—सिरींग गर्ने, सास गन्हाउने, गिजाबाट रगत आउने, बेरंगी दाँत, नमिलेका दाँत, मुखमा घाउखटिरा र मुखमा विभिन्न रंग तथा प्रकारका दाग, धब्बा वा पत्र देखा पर्नु हो । यसका साथै यी सामान्य रोगहरूबाट उत्पन्न भएका जटिलताहरू जस्तै गाला वा चिउँडो सुन्निएको, मुख खोल्न नसकेको, पिनास भएको, ट्युमर भएको, क्यान्सर भएकोे, तथा दन्त अपांग वा थोेते भएको पनि त्यतिकै भेटिन्छन् । मुखका रोगहरू गाउँघर तथा शहर बजारमा रोग नभई प्रकोप, प्रकार, किसिममा मात्र फरक पर्दछ ।गाउँघरमा गिजा सम्बन्धी रोग, त्यसपछि दाँत खिइने रोग, प्रमुख रूपमा देखा पर्दछ भने शहर बजारमा दाँत किराले खाने त्यसपछि मुखमा नराम्रा खैरा, सेता वा राता दाग, धब्बा र पत्रहरू पर्दछन् । 

कुन उमेर समुहमा दाँतको समस्या बढी देखिन्छ ?
काठमाण्डौ, पोखरा जस्तो शहर होस् वा विकट जिल्लाका शहर पाँचथरको फिदिम, बाजुराको मार्तडी होस् वा गाउँघर होस् त्यसैगरी हिमाल, पहाड वा तराई होस् वा सम्पन्न वा बिपन्न वर्ग नै होस्, चाहे पुरूष वा महिला होस् वा शिक्षित वा अशिक्षित वर्ग नै होस्, चाहे वृद्धा हुन् वा वयस्क वा बालबच्चा सबैमा नै दन्त समस्या देखिन्छन् । फरक यति मात्र छ कि कुनैमा समस्या दिनेगरी, स्पष्ट देखिने गरी भएका छन त केहीमा सुष्मता वा सुरूको अवस्थामा छन्, केहीमा जटिलतानै आइसकेका छन् त केहीमा अंग—भंग भइसकेका छन् ।
 

अंग भंगको कुरा गर्नु भयो, दाँतको समस्याले शरीरमा कस्तो समस्या उत्पन्न गराउँछ ?
स्वादिष्ट भोजनबाट तबमात्रै सन्तुष्टि लिन सकिन्छ जब। दाँतमा कुनै खराबी हुँदैन । रोगी दाँतले राम्ररी चपाउन नसकेका कारण भोजन पच्न गाह्रो भई त्यसको प्रभाव सोझै स्वास्थ्यमा पर्छ । विकारयुक्त दाँत तथा गिजाप्रति लापरवाही गरिँदा विकार पेटमा पुगेर रगतमा मिसिन्छ र शरीरमा विभिन्न रोगहरु कोलिसिस्टाइटिस, जोर्नी र हड्डीका विभिन्न रोगहरु, रक्तचाप, रक्तअल्पता, फोक्सोको रोग, झाडा पखाला,कब्जीयत, पेट र गला सुन्निने, पेटको अल्सर, आँखाको रोग, ब्लाडर, मृगौला, फोक्सो, मुटु र दिमाग जस्ताका रोगहरु, सब एकयुट ब्याक्टेरियल इण्डोकार्डाटिस, हर्ट एटेक तथा मधुमेह हुन सक्दछ । गर्भवती महिलामा यस्ता भए यसको सोझो प्रभाव गर्भमा रहेको शिशु तथा प्रसव समयमा पर्दछ । किनभने मुख शरीरको प्रवेशद्धार र ऐना दुवै हो ।

यस्ता समस्याहरुबाट बच्न दाँत एवं मुखको सर—सफाईमा कस्तो ध्यान दिनुपर्छ ?
दिनको २ पटक बिहान र बेलुका खानापछि तलमाथि गरी दाँत सफा गर्नुपर्दछ । सम्भव भए टुथव्रश र फ्लोराइड भएको दन्तमञ्जन नभए दतिवन प्रयोग गरी दाँतका सबै सतहहरु सफा गर्नपर्दछ । अन्य समयमा खाना खानासाथ मुख कुल्ला गर्ने बानी बसाल्नुपर्छ । दुई दाँत बिचको सतह डेन्टल फ्लसको प्रयोग गरि सफा गर्नुपर्छ । बालक ६ महिना नपुग्दा सम्म सफा कपास पानीले र तत्पश्चात नरम ब्रसले दाँत सफा गरिदिनु पर्छ । 

यसबाट बच्न खानेकुरामा पनि नियन्त्रण गर्नु पर्छ ?
टाँसिने, प्रशोधित, गुलिया, धेरै तातो, चिसो र अमिलो खाद्य दार्थ साथै सूर्तिजन्य पदार्थ, पान, सुपारीको प्रयोग गर्नुहुँदैन । भिटामिन बी र सी पाइने टमाटर, अमला, कागती, सुन्तला, अंकुराउँदै गरेका अन्नबाली, मूला, गाजर, बन्दागोबी, सखरखण्ड जस्ता रेसादार फलफूल, हरियो सागपात सेवन गर्नपर्छ । 

दन्त समस्याबाट बच्न कस्तो सावधानी अपनाउनु सकिन्छ ?
के शिक्षित के अशिक्षित, के शिक्षक के बिद्यार्थी, के गरिव के धनी सबै वर्गमा नियमित दन्त परिक्षणको अनुभव देखिँदैन । असह्य पीडा, जटिलता र समस्या भएमात्र चिकित्सक कहाँ पु्ग्ने चलन छ । प्रत्येक ६–६ महिनामा दाँत परीक्षण गराउँदा समस्याको प्रारम्भिक अवस्थामा नै पहिचान हुन्छ र चरणमा नै उपचार गरियो भने ७५ प्रतिशत कम खर्चमा निराकरण सम्भव हुन्छ । 

समयमै सचेत भई १ हजार ४ सय ४० मिनेटको एक दिनमा बिहान खाना खाइसकेपछि ३ मिनेट र बेलुका सुत्नु अगाडि ३ मिनेट मुखको सरसफाईमा समय दिनसक्यौं भने करिब ९० प्रतिशत मुखका रोगहरुबाट मुक्ति पाइन्छ । रोग लागिसकेपछि उपचार गराउँदा पनि विज्ञापनको पछि मात्र नदौडी उपचार गर्ने चिकित्सक भए नभएको, प्रयोग गरिने सामान, उपकरण र पदार्थहरु पूर्ण निर्मलीकरण र शुद्धिकरण भए नभएकोमा राम्रोसँग ध्यान दिनुपर्छ । अन्यथा रोगको उपचार गर्न गएकोमा फर्कँदा अपरिवर्तित नोक्सान, जटिलता, थुप्रै हेपाटाइटिस एचआइभी जस्ता सरुवा, संक्रामक र भयानक रोगहरु बोकेर घर फर्कनुपर्ने हुनसक्छ ।

Spark_health_home NIdan Hospital

Leave a Comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Swastha Bema AD below news Related Posts