अफ द बीटः बीमा हाकिम बाँचेर फर्किएको त्यो छिन्छु दुर्घटना...  


Download our app to get more features

देशका विभिन्न जिल्लामा राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनी कहिलेकाँही बडो गम्भीर कुरा पनि मजाकको शैलीमा व्यक्त गर्छन । अघिल्लो साताको एकदिन उनीसँग समय मागेर म अन्तर्वाताका लागि टेकु पुगेको थिएँ । विषयवस्तुका कुरा सुरु हुनुपूर्वै सामान्य केहीबेर मजाकमा बिताइयो । त्यहीबीचमा उनले एउटा भयानक दुर्घटनाको कथा फिल्मी शैलीमा सुनाए । वा भनौं उनले सुनाएको त्यो दुर्घटनाको विवरण नै फिल्मको कुनै दृश्य झैं लाग्थ्यो ।

 सर्वप्रथम त उनले एउटा भग्नावशेष गाडीको केहीे फोटा देखाए । जुन कुनै फिल्ममा देखाइने दुर्घटना भएपछिको मोटरभन्दा कम थिएनन् । बीमाको हाकिमलाई कसैले बिमा दावी गर्न फोटो पठायो होला भनौं भने उनी स्वास्थ्यबीमाको चाहीँ हाकिम थिए । मोटरवाला थिएनन् । ताजुक त त्यतिबेला लाग्यो जब उनले उक्त भयानक दुर्घटना पश्चात भग्नावशेष गाडीबाट सकुसल निक्लने मान्छे पनि मै हुँ भने । डा. लोहनी र चालक दुवैजना त्यति त्रासदीपूर्ण दुर्घटनाबाट कसरी सकुशल फर्किए भन्ने कहानीलाई बडा रोचक ढंगबाट सुनाए । त्यसलाई पंक्तिकारले केही प्रशोधन गरेर उनकै भाषामा प्रस्तुत गरेकोमात्र हो । 


जेठ ११ र १२ गते जुम्लामा स्वास्थ्य बीमा विस्तार गर्न सरोकारवाला र स्वास्थ्यकर्मीलाई अभिमुखी तालिम गराएर म र सवारी चालक राम ब. खड्का जाजरकोट लाग्यौं । १३ गते बिहानै सुर्खेत नेपालगञ्ज सडक खण्ड हुँदै बा २ झ १९९६ नंको गाडी चढेर चढेर जाजरकोट हिँडियो । बिर्सिरहने बानी भएकाले त्योदिन चश्मा बिर्सिएर म पुनः होटल फर्किएँ । त्यसपछि मात्र हामी गन्तव्यतर्फ लाग्यौं । छिन्छु सडक खण्डबाट अघि बढ्दै गर्दा मध्यपश्चिम उति विघ्ना तातिसकेको थिएन । छिन्छुको त्यो लमतन्न सडकमा तेर्सो कुदिरहँदा चालक खड्का एकाएक अलि असहज देखिए । भर्खरै पीच गर्न कालोपत्रे छरिएको सडक थियो । उनको अनुहारमा देखिएको असहजता पढ्न नपाउँदै चढिरहेको गाडी पुरै नाच्न थालिहाल्यो । मैले गाडी नाच्न थालेको केहीबेर मात्र महशुश गरें । त्यसपछि त मेरा महशस गर्ने ज्ञानेन्द्रियहरु नै नाकाम भैसकेको थियो । म शून्यतामा बिलाइसकेको थिएँ । कविता भनिनेजस्तो शुन्यता होइन । साँच्चिकैको शून्यता । एकछिनमा गाडी नराम्रो र ठूलो आवाज निकालिँदै भित्तामा ठोक्किएको मलाई अहिलेपनि याद छ । सम्झियो कि ढुकढुक छाती फुल्छ ।

त्यसपछि म फेरी शून्यताबाट सामान्यतर्फ मोडिएँ । त्यतिञ्जेल मैले सायद ड्राइभरको मृत्यु नै भैसकेछ कि भन्नेसम्म सोच्न भ्याएको थिएँ । त्यति ठुलो बेगले गाडी ठोक्किँदापनि खासै पीडा महशुस नभएपछि मलाई आफुचाहीँ बाँचेको महशुस भयो । थप बाँच्नका लागि संघर्ष थालिहालें । मैले कयौं फिल्ममा गाडी ठोक्किएपछि जलेको देखेको छु । मलाई गाडी ठोक्किएपछि जल्छ भन्ने लाग्छ । त्यसैले म हत्त न पत्त बाहिर निस्किएँ । बाहिर आएर हेर्दा गाडी आधि उत्तानोटांग परेको थियो । आगो लागेको थिएन । कतै सल्केको पनि थिएन । सायद फिल्महरुमा एनिमेशन गरेर गाडी तत्काल जलाइन्छ की ! रामबहादुर पनि बाहिर निक्लन संघर्ष गर्दै रहेछन । गम्भीर घाइते भए भन्ने लागेर मैले उनलाई बाहिर तान्न सहयोग गरें । तर उनी मलाई उल्टो केही त भएन ? भनेर सोध्दै थिए । 

अझै रोचक त के भयो भने तत्कालै दुर्घटनास्थलमा आइपुगको नजिकै घाँस काट्दै गरेका मान्छेहरुले गाडी बाहिर बसेको हामीलाई भन्दा गाडी भित्र चिहाउन थाले । उनीहरुलाई लागेको थियो, दुर्घटनामा पक्कै कोही न कोही त मेरको छ । उनीहरुले हामी त्यो भग्नावशेष गाडीबाट झरेको हो भन्ने हाम्रो बयानलाई सुरुमै पत्याउने संकेत देखाएनन् । हामी दुवैजनालले सिट बेल्ट बानेको हुँदा गाडी ठोक्किँदा हामी हुत्तिएनौं । त्यसैले हामीलाई केही भएन । मैले तत्कालै निश्कर्ष निकालें । 

कच्याककुचुक गाडी देखेर मेरा खुट्टा केहीबेर देखि तीव्रगतिमा कम्पन गरिरहेका थिए । धेरैले दुर्घटनाबाट बाँचेपछि पुनर्जिवन भएको भन्ने गरेपनि म चाहीँ त्यसलाई मृत्युको साक्षात्कार भन्ने अर्थ लगाउँछु । मैले गाडी ठोक्किरहँदा भोगेको शुन्यतामा मैले मृत्यु देखेको थिएँ सायद । मैले निराकार मृत्युको चित्रलाई सुमसुम्याएर निस्किएँ भन्ने पनि लाग्छ । पछाडीबाट आइरहेको बस छडेर हामी नेपागञ्ञ फर्कियौं । जसरी अघि चश्मा लिन फर्किएका थियौं । बाटो लागेको मान्छे फर्किनुहुन्न भन्ने परम्परागत मान्यताको विरुद्धमा चश्मा लिन फर्किनु गलत भयो कि भनेरपनि मैले समिक्षा नगरेको चाहीँ होइन । तर, म यसमा विश्वास भने गर्दिनँ ।    


दुर्घटना साँच्चै कहालीलाग्दो थियो । त्यति उनको प्रस्तुति छँदै थिएन । भग्नावशेष गाडीको तस्विर नै यसको साक्षी छ । मानिसहरु विभिन्न ठूला दुर्घटनाबाट बाँचेर फर्किएका पनि छन् । सामान्य दुर्घटनाबाट मृत्युवरण गर्नुपर्ने पनि उत्तिकै छ । तर, लोहनी सामान्य नाडीमा घाउ बोकेरमात्र फर्किए । दैव संयोग भनेको यहि होला । उनी आजभोलि घरिघरी आफु बसिरहने कुर्सीमाथि माला लागेको आफ्नै फोटोको पनि कल्पना गर्छन रे । निदाएर व्युँझिदा पनि सबैभन्दा पहिले उनलाई त्यही घटनाले थप्पड हान्छ । 

परिवारका सबैले सुझाएपछि अघिल्लो हप्ता उनले घाँटीको एक्सरे गरेका छन् । त्योपनि प्रिन्ट भएको छैन । समस्या नदेखिएकाले प्रिन्ट नगरेको उनले सुनाए । दुर्घटनाग्रस्त गाडी बीमा दावी गरेसँगै ग्यारेजमा थन्किएको छ । त्यो गाडी अब उठ्ला नउठ्ला तर चालक रामबहादुरले अर्को गाडी उठाइसकेका छन् । डा. लोहनीले कयौं फाइल उठाइसकेका छन् । 

Spark_health_home NIdan Hospital

2 Comments

  1. Thank You God...

  2. Thank God you and your driver are safe. Roads in our country are in poor condition. You are one of the most hard working government official I have ever seen. I am proud to have worked with you...

Leave a Comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Swastha Bema AD below news Related Posts