डिप्रेसनबारे कुरा गरौं, कसरी निम्तन्छ उदासीपन ?

[ सन्दर्भः विश्व स्वास्थ्य दिवस ]


Download our app to get more features

प्रतिकूल परिस्थितिहरुमा मानिसलाई धेरैथोरै उदास, दुःखी, बोर वा दिक्दार अनुभव हुन्छ ।

डिप्रेसन भन्ने मनोरोगमा पनि एक प्रमुख लक्षणको रुपमा उदास, दुःखी, बोर वा दिक्दार अनुभव हुनेगर्छ । रोगको लक्षण स्वरुप यसरी हुने उदास अनुभवलाई रोगको अंश होकि प्रतिकूल परिस्थितिप्रतिको स्वाभाविक प्रतिक्रिया मात्र हो छुट्ट््याउन नसकेर यसको पहिचान र उपचारमा कठिनाई उत्पन्न भएको हुन्छ ।

डिप्रेसनका धेरै रोगीहरुमा यो समस्याको न महसूस र पहिचान हुन्छ न त पर्याप्त र उपयुक्त उपचार नै । धेरै मानिसमा डिप्रेसन लगायतका मानसिक रोगको विषयमा अज्ञानता, मिथ्या र गलत सोंच हुनाले लुकाउने प्रवृत्ति पनि देखिन्छ । संसारमा मानव जातिलाई सुताएर अशक्त बनाउने मुख्य स्वास्थ्य समस्याहरुमा डिप्रेसन वा उदासिन मनोरोग नम्बर एक हुने प्रक्षेपण गरिएको छ । विश्व स्वास्थ्य संघले सन् २०१७ को अप्रिल ७ का दिन स्वास्थ्य दिवसमा डिप्रेसन विषयमा जान्न, सुन्न, बुझ्न र कुराकानी गर्न अपिल गरेको छ ।

डिप्रेसनको रोग हुँदा व्यक्तिको उदासी अनुभव आफ्नो नियन्त्रणभन्दा पर पुग्छ । यस्तो अनुभव दुईहप्ता वा बढी अवधिसम्म प्रायः सधैंजसो सबैजसो दिन हुनथाल्छ, लाख कोसिस गर्दा पनि यस्तो अनुभवले छाड्दैन, बेचैनी हुन्छ, दैनिक कामकार्वाहिमा दखल पर्नथाल्छ र साथमा अरु लक्षणहरु पनि देखा पर्दछन्  । परिस्थिति जेजस्तो होस्, यस्तो अवस्था सामान्य उदासपन मात्र ठान्नु गलत हुनेछ । उदासिनताले गाँजेको छ वा डिपे्रसनको शंका छ भने के गर्न सकिएला भनी यहाँ चर्चा गर्नु सान्दर्भिक हुनेछ । 

१. उदासिपन रोगै हो कि भनी प्रष्ट होऔं 
प्रतिकूल परिस्थितिमा पनि उदासी अनुभव हुनेहुँदा डिप्रेसनको पहिचानमा अन्यौल हुनसक्छ । तालिम प्राप्त व्यक्तिले चिन्ह तथा लक्षणहरुका आधारमा यसको निदान गर्दछन् । उदासिपन वा दुःखी अनुभव एक प्रमुख लक्षण भएपनि कतिपय डिप्रेसनका रोगीहरुमा अरु लक्षणहरु पनि हाबी हुन भने सक्छ । रोगकै रुपमा डिप्रेसन ग्रस्त व्यक्तिमा मानसिक, शारिरीक र सामाजिक असर स्वरुप न्यूनता आउने विविध लक्षणहरु देखिन्छन्ः जस्तै– 

मानसिक- मनोसामाजिक लक्षणहरुः 
क. सधैंजसो मनमिजास उदास, दुःखी, बोर वा दिक्दार रहनु, 
ख. दैनिक काम कार्वाहि र व्यवहारमा रुचि कम भएर अरुबाट एक्लिनु वा एकान्तमा रहनु, 
ग. केहि गर्ने जाँगर र आत्मविश्वास हराउनु, आफू बेकामे, बेसहारा र भविष्य अन्धकार लाग्नथाल्नु, बाँच्ने चाहना कम भई आत्महत्याका बिचार आउनु । कडा खालका डिप्रेसनमा हुँदै नभएका कुरा सुन्ने देख्ने आभासभ्रम र शंका, मिथ्याभ्रम जस्ता कडा लक्षणहरु पनि प्रकट हुन्छन् । 

शारिरीक लक्षण: अस्वाभाविक रुपले नातागत हुने, भोक कम वा ज्यादा हुन तौलमा कमि वा बृद्धि हुने, निद्रा अक्सर कम हुन्छ कसैकसैलाई बढी हुनसक्छ र बिहान उठ्दा बोधो महसुस हुने, यौनेच्छा र तुष्टिमा कमि हुने, दिसा कव्जियत र महिनावारीमा पनि गड्बड् हुने हुन्छ । टाउको, जीउ वा शरीरका अरु भागहरु दुखिरहने तर परीक्षणमा चित्त बुझ्दो प्रमाण नदेखिने अवस्था पनि देखिन्छन् ।

२. नजीकको दक्ष स्वास्थ्यकर्मिसँग सम्पर्क राखौं 

कतिपय मानिसहरु मानसिक रोगीको बिल्ला लाग्ने, समाजमा कुरा खुल्ने डरले यो रोग लुकाउने, सम्बन्धित चिकित्सकबाट उपचार नखोज्ने, नजीक नै सेवा उपलव्ध हुँदा पनि टाढासम्म पुगेर उपचार गराउनेतिर लाग्दछन् । यसको निदान बिरामीलाई लेवल लगाउन नभई उपचारका लागि हुनेगर्छ । चिन्ता मानेर बस्नुभन्दा आवश्यक र उचित उपाय गर्नतिर लाग्नु, सबल, सक्षम र सहयोगी साथीभाई, आफन्तको सहयोग सल्लाह लिनु, सकेको काम, हल्का व्यायाम वा यस्तै कुरामा मन बहलाउने कोसिस गर्नु उपयोगी हुन्छ । नजीकमा उपलव्ध सम्बन्धित तालिम प्राप्त स्वास्थ्यकर्मि र संस्थाबाट उपचार खोज्नसकिन्छ । कडा अवस्थामा रेफरलको जरुरी हुनसक्छ । औषधि उपचार आवश्यक भएको अवस्थामा बिना हिच्किचाहत् विज्ञको सल्लाहमा आवश्यक मात्रा र अवधिको लागि सेवन गर्नुपर्छ । 

३. उपचारमा जानमा परिवारजनले पनि पहल गरौं
सरदरमा दश पुरुषमध्ये एक र चार महिलामध्ये एकको जीवनमा डिप्रेसन भन्ने रोगले समात्छ । यसबाट पीडित धेरै मानिसहरुको रोगको रुपमा पहिचान, निदान र उपचार हुनेगर्दैन । उपचार शुरु नै भएमा पनि उपयुक्त र पर्याप्त मात्रा र अवधिको लागि हुनेगर्दैन । उपयुक्त उपचार नहुनाले अधिक डिप्रेसन पिडित मानिसहरु अस्वस्थ, विकलांग, बेचैन मात्र हैन, अरु शारिरीक रोगप्रतिको हेरचाहमा उदासिनता र आत्महत्याको कारण उच्च मृत्यूदरको जोखिममा रहन्छन् । अतः, उपचारमा आनाकानी, ढिलाई गर्नुहुँदैन । डिप्रेसनका रोगीहरु उपचार गराउन नमान्ने हुनसक्छन् । उपचार प्रक्रिया अघि बढाउनमा परिवार, साथीभाइको भुमिका महत्वपूर्ण हुन्छ, जस्तैः बिरामीलाई उपचारको लागि सम्बन्धित स्थानमा लान, उपचार शुरु गर्न, फलोअपमा रहन, ठीक भएपछि पुनस्र्थापना गर्न लगायत् पछि दोहरिन नदिन आवश्यक होसियारी अपनाउनमा ठूलो भुमिका रहनेगर्छ । बिरामीको औषधीको रखनधरन, रेखदेख र सेवनका लागि हौसला दिन आवश्यक हुन्छ । कतिपय बिरामीमा आफैंलाई हानी गर्ने सम्भावना हुन्छ र विशेष सावधानी जरुरी हुन्छ ।

  ४. उपयुक्त किसिमले दवाइको सेवन गरौं 
यसमा औषधिको प्रयोगलाई लिएर धेरैमा नकारात्मक दृष्टिकोण देखिन्छ, जस्तैः यसमा दवाइ आवश्यक नहुने, हानीकारक हुने, बिगार गर्ने, लत पर्ने आदि । हाल आएर बिरामीको लक्षण र आवश्यकता अनुसारका विविध खालका लक्षण कम गर्ने मात्र हैन निको पार्ने र पछि हुनबाट रोकथाम गर्ने भरपर्दा र सुरक्षित औषधिहरुको विकास भैसकेको छ । कडा डिप्रेसनमा चिकित्सकको सल्लाहमा बिजुलीको सेक उपचार पनि लिनसकिन्छ जुन उपयोगी र सुरक्षित तरीका हो । दक्ष चिकित्सकको सल्लाह अनुसार उपयुक्त औषधि उपयुक्त डोजमा आवश्यक अवधिसम्म सेवन गर्दा डिप्रेसन निको हुने, उल्टिनबाट रोक्न सकिने तथा यसबाट हुनसक्ने साइड इफेक्ट पनि घटाउन सकिने हुन्छ । आफूखुशी गर्दा भने विभिन्न समस्या आइपर्न सक्छ । यस्ता व्यक्तिहरुको सोंच, बिचार, व्यवहार र अन्तरसम्बन्धमा हावी हुने विकृतिलाई सुधार्ने मनोवैज्ञानिक तरीका पनि आवश्यक पर्नसक्छ । 

५. सरसल्लाह, सहयोग र भरोसा जुटाऔं 
मनमुटाव, तिक्तता, कलह, द्वन्द्व, झैझगडाले डिप्रेसन निम्तिनसक्छ र अरु व्यक्तिसँगको अनुपयुक्त अन्तरक्रिया, एक आपसबीचको तनावपुर्ण सम्बन्धले डिप्रेसनको पृष्ठभुमि तयार पार्नसक्छ । डिप्रेसन भएपछि पनि कतिपय सुमधुर सम्बन्ध टुक्रिनजान्छ, बिरामीको अरुसँगको सम्बन्धमा चिसोपना आउनसक्छ । यस्ता व्यक्तिको अरुसँगको सम्बन्ध सुमधुर बनाउने र सरसल्लाह अनि सहयोगको माहोल बनाउने सामाजिक पहुँच उपचारको अभिन्न पाटो हुनेगर्छ । यस्तो बेलामा बिरामीलाई साथ, सहयोग, हौसला, प्रेरणा, सल्लाह, सुझाव र न्यानो सम्बन्धले राहत् मिल्छ । कतिपय बेलामा अन्तरसम्बन्धमा आधारित थेरापिपनि जरुरत पर्नसक्छ ।

६. स्वस्थकर व्यावहारिक विधि अवलम्बन गरौं  
यस्ता व्यक्तिहरुको सोंच, बिचार र व्यवहारमा हावी हुने बिकृतिलाई सुधार्ने मनोवैज्ञानिक तरीका पनि आवश्यक हुनसक्छ । बिरामीको न्यून रुचि र जाँगरलाई लिएर पहिले जस्तै रुचि जगाउने सल्लाह, आदेश र टिप्पणी दिन अघि यो कुरा पनि सम्झौं कि यसमा व्यक्तिको जोर चल्दैन । आवश्यक उपचारसँगसँगै यद्यपि आफ्नो रुचि अनुसारका केहि कुराहरुमा शक्रिय रहन हौसला दिनसकिन्छ । सरल कामबाट शुरु गरेर बिस्तारै यसको मात्रा बढाउन सकिन्छ र तालिका बनाएर उत्प्रेरणा जगाउन सकिन्छ । यस्तोमा एकैपटक धेरै ठूलो योजना बनाउनुभन्दा पनि यथार्थपरक हिसाबले उद्धेश्य तय गर्न आवश्यक हुन्छ । घरको सामान्य काममा व्यस्त रहने, मन मिल्ने मानिससँग भेट्ने, करेसाबारीमा गोडमेल गर्ने वा टहल्ने जस्ता सामान्य कामबाट व्यक्तिको शक्रियता, हौसला र जाँगर बढाउन बल मिल्छ ।

उदास कतिपय मानिसले बेपरवाह खर्च गर्ने, बढी खाने, नशालुपदार्थ सेवन गर्ने, खतरनाक र आफैंलाई हानी हुने कदम उठाउने, माया नै नगरी यौन क्रियाकलापमा संलग्न हुने, आहारविहार र दवाइपानीमा परहेज नगर्ने र ध्यान नदिने जस्ता अस्वस्थ प्रवृत्ति अपनाउन सक्छन् । यस्ता कुराहरु रोक्नुपर्ने हुन्छ । आफ्नो मनको बह उपयुक्त व्यक्तिलाई मात्र पोख्नु श्रेयस्कर हुन्छ । हाँस्ने, हँसाउने स्वस्थ मनोरञ्जनको माहोल र अवसर बनाउनतिर लागिरहनुपर्छ ।   

डिप्रेसन हुन नदिने, भएमा उपचार गर्ने र जटिलताहरु रोक्ने रोकथामका विविध तहमा बल पुग्ने खालका स्वस्थ तरीकाहरु सबैले मनन् गरौं, जस्तैः 

१. सोंचमा सकारात्मकता ल्याऔं । 
अरुलाई दोष दिने, अरुमा ज्यादा भर पर्र्नेे, आफ्नो कमजोरी र गल्ती महसुस नगर्ने, गल्तीबाट नसिक्ने र काम थाती राख्ने जस्ता प्रवृत्तिहरुले पनि व्यक्तिमा डिपे्रसनको पृष्ठभूमि बन्नसक्छ । सत्यतथ्यमा आधारित सकारात्मक सोंचको बिकास गर्नतिर लाग्नुपर्छ । आफ्नो काम कर्तव्य हरेक दिन गरिरहनुपर्छ । गल्तीबाट सिकेर आफूमा आवश्यक परिवर्तन गर्ने, आवश्यक परेमा माफी माग्ने र अरुको सवालमा अरुको दिमाग आफूले जान्न सकिँदैन, अरुको जिम्मा आफूले लिनसकिँदैन भनी चित्त बुझाउने पहुँचले उदासिनता कम गर्न सघाउँछ । सुखदुःख, उज्यालो अँध्यारो, जीवनका अंश हुन् र परिवर्तनशील छन् भन्ने अनित्य बोधले व्यक्तिलाई जीवनमा आइपर्ने पीडा स्वीकार गरेर अगाडि बढ्न सघाउँछ । यसबाट आफू बेकार भएको सोंच तथा आफन्त, प्रेमी, भौतिक सम्पति, पद जस्ता कुराहरु सम्बन्धी हुने चिन्ता पनि घट्छ ।

२. चिन्ता होइन चिन्तन गरौं  
डिप्रेसन रोगको रोकथाम र उपचार बहुआयामिक हुनेगर्छ । यसमा तनावको समाधान, यसको बहन गर्ने क्षमता, सिप र कला अभिवृद्धि गर्ने मनोवैज्ञानिक विधि उपयोगी हुन्छ । जीवनमा किन तनाव आयो भनी चिन्तनमनन् गर्नुपर्छ, कारणको निदान गरेर समस्याको विश्लेषण र चिन्तन गर्ने प्रवृत्ति बसाल्नुपर्छ । टिपोट लेखेर विश्लेषण गर्ने बानीले ध्यान चिन्ताबाट मोड्न सघाउँछ । समस्या समाधान हुने खालको भएमा समाधान गर्नतिर लाग्नुपर्छ । समस्याका यावत् कारणहरु, सम्भाव्य समाधानका उपायहरु खुला दिमागले सोच्नुपर्छ । आवश्यक परेमा साथीभाई, परिवार र अन्य सहयोगीहरुको मद्धत लिनसकिन्छ । कडा डिप्रेशनबाट पिडित कतिपय व्यक्तिहरु समस्या समाधानका उपायहरु इन्कार गर्नपुग्छन् । यस्तो अवस्थामा बिरामीलाई आवश्यक उपचारतिर लैजान आफन्तको भुमिका महत्वपूर्ण हुन्छ । समस्याको समाधान व्यक्तिको परिस्थिति र बलबुताले सम्भव नदेखिएमा यस्तो समस्या पनि समयसँगै बिलाएर जाने विश्वासका साथ, मन शान्त पार्ने अरु उपायहरु अपनाउन सिक्नुपर्छ । आआफ्नो विश्वास, संस्कार अनुसार प्रार्थना, समर्पण वा ध्यान गर्दा पनि धेरै राहत् मिल्छ । यस्तो बेला चिन्ताभन्दा पनि चिन्तन गर्ने सिपको बिकास गर्नसके दूरगामी सकारात्मक असर पर्नेछ । यस्तोमा सकारात्मक सामाजिक जीवन बिताउन सिक्नुपर्छ । मानिसहरुलाई आत्मीय व्यवहार गर्ने, अरुको कुरा रुचिपुर्वक सुन्ने, अरुलाई पनि महत्व दिएर हौसला दिने र सामुहिक छलफललाई सकारात्मक बनाउने जस्ता कदमहरुले व्यक्तिलाई संटुष्ट र खुशी रहन सघाउँछ ।

३. अस्वस्थ प्रतिश्पर्धादेखि टाढा रहौं  
आफूभन्दा साना र दुःखमा परेका मानिस हरेर चित्त बुझाउन र ठूलालाई हेरेर प्रगति गर्न हौसला मिल्छ । यसले अरुको लागि पनि सक्दो काम गर्न प्रेरित गर्छ । जीवन सरल र सहज भएर जान्छ । 

४. स्वस्थ जिविका अपनाऔं 
समग्र स्वास्थ्यका लागि स्वस्थ शरीर र मनका सन्तुलित जीविका; तनाव बहनका सिप, क्षमता बढाउने तरीका; सहारा सञ्जाल, साथ सहयोग र सुमधुर सम्बन्धको माहोल; अनुपयुक्त र अस्वस्थ प्रतिश्पर्धा रहित् शान्त, सुखी, संतुष्ट, सन्तुलित, समझदार, अनुशासित परिवार र समाजको अवधारणा; पोषण आहार, बिहार, बिचारको साथै नियमित निद्रा, सन्तुलन; व्यायाम, योग; सँस्कृति र परम्परा अनुकूलको व्यवहार उपयोगी हुनेगर्छन् । 

५. डिप्रेशनबारे सत्यतथ्य मनन् गरौं 
समयमै रोग लागेको कुरा चाल पाएर आवश्यक उपचार थाल्नका लागि रोगका लक्षण, उपलव्ध उपचार विधिहरु, सेवासुविधा र अरु आवश्यक जानकारी राखेर जागरुक रहन जरुरी हुन्छ । यसले उपचारमा ढिलाई र उपचार नहुँदा हुनसक्ने आत्महत्या लगायतका धेरै खालका जटिलताहरुको रोकथाममा सहायता पुग्छ । डिप्रेसनका विविध तहमा रोकथाम सम्भव छ, यसका लागि जागरुक र सचेत कदम आवश्यक हुन्छ । 

यी सबै कुराको लागि पहिलो कुरा त यसको समझ र जागरुकता नै हो । यसका लागि यसबारे सत्यतथ्य जानीबुझी राखौं । यसबारे खुलेर कुरा गरौं । डिप्रेसनबारे हामीबीच रहेका अज्ञानता र भ्रम हटाएर जीवन र समाज स्वस्थ बनाऔं ।  

[email protected]

Spark_health_home Swastha Bema AD below news KDC Ad Below News

Leave a Comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts