महिनावारी हुँदा अत्याधिक रक्तश्राव हुन्छ ?


Download our app to get more features

७ वर्षीयाअनुजा ११ कक्षामा अध्ययनरत छिन् । हाल उनी महिनावारीको समस्याबाट पीडित छिन् । हरेक पटक महिनावारिको समयमा ४–५ दिन उनलाई अत्याधिक पेट दुख्छ र दुखाईको कारणले क्याम्पस जान पनि नसक्ने हुन्छिन् । किशोरीहरुमा हुने मासिकश्रावको समयमा धेरैलाई यस्तो दुखाई हुने गरेकोे पाइन्छ । यसको कारणले उनीहरु मात्र होईन अभिभावकहरु पनि चिन्तित् हुने गरेको पाईन्छ । महिनावारिमा भएको यस्तो समस्यालाई डिस्मेनोरिया भनिन्छ ।

२० वर्षीया अनुको पनि महिनावारिको समस्या छ । तर उनको समस्या बेग्लै छ । उनलाई महिनावारिको समयमा अत्याधिक रक्तश्राव (४–५ वटा प्याड भिज्ने) हुने गरेको तथा लामो समय (७ दिन भन्दा बढि)  रक्तश्राव हुने गरेको छ । अत्याधिक रक्तश्रावकै कारण कमजोरी महसुस गर्ने, चक्कर लाग्ने, वान्ता हुने गर्छ । महिनावारिमा हुने यस्तो समस्यालाई मेनोरेजिया भनिन्छ । टिनऐजमा हुने अर्को एउटा समस्या पनि छ, महिनावारी रोकिने वा नहुने समस्या । जसलाई एमेनोरिया भनिन्छ । महिनावारी शुरु भएको १–२ बर्ष पछि महिनावारी रोकिने समस्या एमेनोरिया धेरैले भोगेको हुनुपर्छ ।

महिनावारी शुरु भई सकेको किशोरीको एक्कासी महिनावारी रोकिदा गर्भवती पो भयो कि भन्ने डर वा त्राश पनि हुने गर्छन् । महिनावारीमा आउने यस्तो समस्याहरुले किसोरीहरु मात्रै होईन, उनका आमाहरु पनि चिन्तित हुने गरेको पाईन्छ । कतिले त हाम्रो नानीको पछि बच्चा नहुने त होईन भनेर नि प्रश्न गर्छन । महिनावारीका यी समस्याहरु फरक फरक भए पनि, कारण चाहिं उस्तै उस्तै हुन्छन् । प्रायः स्कूल तथा क्याम्पस पढ्ने उमेरका किशोरीहरुमा यस्तो समस्याहरु बढि हुने गर्छन् । 

महिनावारीलाई रजस्वाला तथा नछुने पनि भनिन्छ । यो महिना महिना दिनको अन्तरमा हुने भएकोले यसलाई महिनावारी भनिएको हो । महिलाहरुमा सामान्यतयाः महिनावारि १३—१४ वर्ष देखि नै शुरु हुन्छ । तर अण्डको निष्कासन तथा पाठेघरको परिपक्वता केहि ढिलो हुन सक्छ । महिला परिपक्व भए पछि वा भनौ महिनावारी शुरु हुने भए पछि पाठेघर तथा अण्डाशयमा दुई किसिमका हर्मोनहरु (इस्ट्रोजेन र प्रोजेस्टेरोन) को उत्पादन हुने हुन्छ । यी दुई हर्मोनहरुले पाठेघरको सङ्कुचन (कन्ट्राक्सन) तथा यसका भित्री तह (इन्डोमेट्रियम) बनाउन, भत्काउन तथा महिनावारी गराउनेमा ठूलो भूमिका खेलेका हुन्छन् । यी हर्मोनहरुको उत्पादन पाठेघर र अण्डासयमा भएता पनि यसको उत्पादनको नियन्त्रण मष्तिष्कको हाईपोथालामश् र एन्टेरियर पिट्युटरी ग्रण्थीले गरिरहेका हुन्छन् ।

महिनावारी हुनुमा यी हर्मोनहरु बाहेक पोषण, बंशाणुगत तथा वातावरणिय पक्षको ठुलो भुमिका रहेको हुन्छ । सामान्यतया: अण्डासयले उत्पादन गरेको अण्डको निक्षेदन अर्थात फर्टिलाईजेशन नभए पछि पाठेघरको भित्रि तह (इन्डोेमेट्रियम) टुक्रिने हुन्छ र महिनावारी हुन्छ । किशोर अवस्थामा कसै कसैमा पाठेघरको परिपक्कता ढिलो हुने तथा यी हर्मोनहरुको उत्पादनमा सन्तुलन कायम नहुने हुन्छ । यसै कारणले गर्दा महिनावारीमा अनियमितता हुने गरेको पाईन्छ । यसले पाठेघरको अत्याधिक बढि सङ्कुजन (कन्ट्राक्सन) हुने तथा सो संकुजनले धेरै मात्रामा प्रोष्टाग्लान्डिन उत्पादन गर्ने हुन्छ । त्यसै कारणले तल्लो पेट खप्नै नसक्ने गरी दुख्ने गरेको पाईन्छ । हुनत् किशोरी अवस्थामा दुखाई खप्न सक्ने शक्ति (पेन थ्रेस्होल्ड) पनि कम भएकोले यस्तो हुन सक्छ ।

यिनै हर्मोनहरुको असन्तुलनले तथा पाठेघरको भित्री तह (इन्डोमेट्रियम) को खराबीले महिनावारीमा अत्याधिक रक्तश्राव हुने तथा धेरै लामो समय सम्म रक्तश्राव भईरहने हुन्छ । दुखाई र रक्तश्राव यी दुई समस्याहरुले महिनावारी रोकिएको वा ढिला भएको भन्दा बढि पिडादायक हुन्छ । महिनावारी समयमा नहुने वा थोरै मात्र हुने पनि समस्या हो र यस्का प्रमुख कारण पनि हर्मोनहरुको असन्तलुन नै हो ।

महिनावारि महिलाहरुमा हुने समान्य प्रक्रिया भएतापनि यसले प्रजनन् स्वास्थ्यको अवस्था पनि जनाउने भएकोले यस प्रति सबै सम्वेदनशिल भएको हो । समान्यतयाः २८ दिनमा भनिए तापनि २१ देखि ३५ दिनमा महिनावारी हुन्छ भने त्यो समान्य हो भन्नु पर्छ । यो साधारणतया ४ दिन हुन्छ । तर २१ दिन भन्दा पनि कम दिनमा हुन्छ वा ७ दिन भन्दा बढि रक्तश्राव हुन्छ भने आवशयक भन्दा बढि रगत खेर जाने हुन्छ । त्ससैले यस अवस्थामा उपचार गर्नु पर्ने हुन्छ । त्यस्तै समान्यतया १ दिनमा २–३ वटा प्याड (डेलिभरी प्याड) अर्थात ८० मिलिलिटर सम्म रक्तश्राव ठिकै हो तर सो भन्दा बढि भयो भने उपचार आवस्यक छ । यस्तो अवस्थामा कारण पत्ता लगाउनु पर्छ । किसोर अवस्थामा हर्मोनको असन्तुलन बढि देखिन्छ तर अन्य कारण पनि खोज्नु आवस्यक हुन्छ । अन्य कारणहरु जस्तै पाठेघरमा मासु पलाएको (फाईब्राईड), अण्डासयको रोग, संक्रमण, पाठेघरमा पोलिप आदि नठहरिएको अवस्थामा तथा हर्मोनले असन्तुलन नै पक्का रहेको अवस्थामा केहि महिना हर्मोन भएको औषधि वा खानेचक्कि (पिल्स) प्रयोग गर्न सकिन्छ । यस्का साथै आईरन चक्की, पोषिलो तथा झोलिलो खानेकुरा बढि खानुपर्छ । ३५ दिन काटेर महिनावारी हुने गरेको भएमा वा १–२ मात्र रक्तश्राव हुने वा देखा मात्र पर्ने भएमा किशोरीहरुलाई उपचार गर्नु पर्दैन । महिनावारी रोकिएमा गर्भको अवस्था हेर्नु आवस्यक हुन्छ । तर गर्भ छैन वा अविबाहित किसोरीहरुमा पनि उपचार नचाहिन सक्छ । तर यस्ता किसोरीहरुले पनि चिकित्सकसंग परामर्श लिन आवस्यक हुन्छ ।

 महिनावारीमा दुखाई सबैलाई हुन्छ । कसैलाई कम दुख्ला त कसैलाई धेरै । पाठेघरको भित्रि तह ईन्डोमेट्रियम टुक्रिने, पाठेघरको संकुचन र प्रोष्टाग्लान्डिको उत्पादन दुखाईको कारण हुन् । तर  महिनावारीमा दुख्यो भन्दैमा आत्तिनु हुदैन । धेरै दुखाई अर्थात डिस्मेनोरिया भएको अवस्थामा सामान्य दुखाइ कम गर्ने औषधीहरु प्रयोग गर्न सकिन्छ । सिटामोल, ब्रुफेन, मेफटल, बुस्कोपान आदि केहि दुखाईका लागि खाने प्रचलित औषधिहरु हुन् । तर यस्ता औषधिहरु खालि पेटमा खानु हुदैन । तातोले सेक्ने, झोलकुरा बढि खाने, आराम गर्ने तर नियमित र साधारण ब्यायम गर्ने जस्ता घरेलु उपायले पिडा कम गर्ने हुन्छ । तर यस्ता डिस्मेनोरिया भएका किसोरीहरुले पनि चिकित्सकको परामर्श र आवस्यक परिक्षण गर्नु पर्ने हुन्छ ।

अधिकाशं किशोरीहरुले महिनावारीको सामान्य समस्याले पनि ठुलो तनाव लिने गरेको पाईन्छ । आमा, दिदी, भाउजु तथा अन्य घरको सदस्यहरुले पनि किशोरीहरुलाई महिनावारीको समयमा अपनाउने सावधानी र जानकारीहरु दिनु आवश्यक हुन्छ । समस्या आउँदैमा चिन्ता गर्नु भन्दा पनि चिकित्सकसंग परामर्श लिनु उपयुक्त हुन्छ । किशोरी अवस्थामा देखिने अधिकाशं समस्याहरु विस्तारै आफै निको हुन्छन् तर कारण पत्ता लगाउन ढिला गर्नु हुदैन । 

डाक्टर साह मोरङ्ग सहकारी अस्पतालमा कार्यरत छन्  ।

 

Spark_health_home NIdan Hospital

Leave a Comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Swastha Bema AD below news Related Posts